धर्म-संस्कृतिभित्र महिला


आफ्नै परिवेश.....

झमक घिमिरे : उहिले चाणक्यले भनिदिए- 'आइमाईहरू धेरै बुद्धिमान हुँदैनन् । उनीहरू विश्वासयोग्य हुँदैनन्। त्यसैले उनीहरूलाई कुल परम्पराका विभिन्न धार्मिक रीतिरिवाजहरूमा संलग्न गराइरहनुपर्छ। त्यसैले उनीहरूमा सतित्व, भक्तिभाव रहिरहन्छ।' अहिलेसम्म यही चाणक्यको मान्यता बोकेको समाज छ, संस्कार छ, धर्म छ, रीतिरिवाज छ। यो मान्यतालाई चुनौती छ- आइमाईको कोखमा बसेर पुरुष धर्तीमा आउँछ। 

अनि त्यही आइमाईको विरुद्ध अनेक प्रपञ्च रचेर आइमाईलाई कमजोर बनाउँछ भने त्यो समाज, संस्कार, धर्म, रीतिरिवाज अस्वीकार्य छ। सक्छौ भने हामी आइमाईलाई ठिँगुरा ठोक कुन कठघरामा लगेर उभ्याउँछौ। उभ्याऊ, हामी त्यसको सामना गर्न तयार छौं। चाणक्यले यो कुरा बुझेनन्। आइमाईलाई पनि उचित अवसर दिँंदा पुरुषभन्दा कम बुद्धिमान हुँदैनन्। त्यसबेला आइमाई कम बुद्धिमान हुनुको कारण एउटी आइमाईलाई बच्चा जन्माउने साधन अथवा पुरुषको चुल्होचौको उसको जुठो भाँडाकुँडा माझ्ने वस्तुको रूपमा प्रयोग गरिएपछि उसको शक्ति एउटा दासको रूपमा उपभोग गरिएपछि पुरुषजति बुद्धिमान कहाँ हुनसक्छ त?

कुल, परम्परा, धर्म, रीतिरिवाजहरू आइमाईको लागिमात्र हो? पुरुषको लागि खोइ कुल, परम्परा, धर्म, रीतिरिवाजहरूका नीति नियमहरू? हाम्रा धार्मिक नीति नियमहरू आइमाईका लागिमात्र छन्। त्यो प्रत्येक चाडपर्वहरू पुरुषको पूजा गर्ने, आराधना गर्ने, उसको शक्तिको उपासना गर्ने रूपमा परिभाषित गरिएको पाइन्छ। महादेवको पूजा गरिन्छ, महादेवजस्तो वर पाऊँ भनेर। कृष्णको पूजा गरिन्छ, कृष्णजस्तै जोडी पाऊँ भनेर। रामको पूजा गरिन्छ, रामजस्तै पराक्रमी पुरुष आफूलाई मिलोस् भनेर। त्यसको ठीक विपरीत रूपमा नवदुर्गाको पूजा गरिन्छ, आफूलाई उनको जस्तो शक्ति मिलोस् भनेर, सरस्वतीको पूजा गरिन्छ, ज्ञान मिलोस् भनेर, लक्ष्मीको पूजा गरिन्छ धनसम्पत्ति, ऐश्वर्य मिलोस् भनेर, स्वस्थानी पूजा गरिन्छ, आफ्नो मनोकांक्षा पूर्ण होस् भनेर।

यहाँ बुझ्नुपर्ने कुरा के छ भने कुनै पनि स्त्रीका प्रतिकात्मक मिथकहरूको पूजा पुरुषले दुर्गा, सरस्वती, लक्ष्मीजस्ता आइमाईहरू आफ्नो जीवनमा मिलोस् भन्ने मनोकांक्षाले गर्दैन। उनीहरूको जस्तो ज्ञान, बुद्धि, धनसम्पत्ति ऐश्वर्य, शक्ति मिलोस् भनेर गर्छ। पुरुषलाई शक्ति आइमाई जातिको पनि सञ्चय गर्नुपर्ने तर उसलाई आफू समान मान्छेको दर्जा दिन वर्जित गर्ने? आखिर कुल, परम्परा, वंशलाई त निरन्तरता दिन स्त्रीजाति नै चाहिन्छ भन्ने कुराचाहिँं किन बुझेको छैन? कुल, परम्परा, वंश चलाउन मात्र होइन, मानवजातिको सृष्टिको निरन्तरता आइमाई जातिको भूमिका महत्त्वपूर्ण छ। उसलाई उसको शरीरको स्वतन्त्रतासम्म दिइएको छैन। पुरुषले अधिकार जमाउँछ आइमाईको शरीर कुनै खेलौना हो खेलिरहने?

हाम्रा अधिकांश महिला दिदीबहिनीहरू आफ्नो शरीरमाथि आफ्नो हकदाबी गर्न सक्दैनन्। किनभने उनीहरू पुरुषको भरमा आश्रति छन्। घरबार पुरुषको, उद्योगधन्दा पुरुषको, आर्थिक अवस्था बलियो पुरुषको अनि आइमाई सारा कुरामा पुरुषकै भरमा आश्रति। उसको शारीरिक अवस्थामाथि पनि पुरुषकै हक? हाम्रा धर्म संस्कृतिका कुरा गर्दा जहाँ सतित्व, भक्तिभावको आइमाईले मात्र पालना गर्नुपर्छ, त्यहाँ भनिएको छ, पतिव्रता स्त्री जहिले पतिको सेवामा हाजिर हुन्छे। उसको धर्मले गर्दा उसको पतिको लामो आयु हुन्छ।

यहाँनेर यस पंक्तिकारको प्रश्न छ, के स्त्रीले मात्र पतिव्रता हुनुपर्ने पुरुषले चाहिँं आफ्नी पत्नीप्रति इमानदार हुनुपर्दैन? स्त्रीले आफ्नो पतिको लागि धर्मको पालना गर्नुपर्ने कुनै पुरुषले चाहिँं पतिको लागि धर्मको पालना गर्नु पर्दैन? यो कस्तो धर्म संस्कृति हो हाम्रो? यस्ता विभेदपूर्ण कुरा हाम्रो संस्कृतिबाटै निकालेर फालिदिन सक्दैनौं? यो प्रश्न हाम्रा धर्म, संस्कृतिका ज्ञाताहरूलाई पनि हो। 

किनभने उनीहरूले धर्म, संस्कृतिको राम्रा पक्षहरूलाई संरक्षण, सम्प्रेषण गर्न सक्छन्, समाजमा धर्म, संस्कृतिले जबर्जस्ती थोपारेको विभेदकारी व्यवस्थालाई सही ढंगले व्याख्या विश्लेषण गर्न सहयोग पुर्‍याउनु यिनीहरूको दायित्व र कर्तव्य पनि हो। आइमाई जातिले पनि यो रूपान्तरणमा सहयोग गर्न सक्छन्। समाजले पनि यो कुरा बुझ्नुपर्छ, आइमाई जाति कुनै कुल, परम्परा, वंश र अंश निरन्तरता पुरुष जन्माउने साधनमात्र होइन, ऊ पनि पुरुषजस्तै मानवजाति हो, उसको पनि पुरुषको जस्तै चाहना र भावना हुन्छन्। त्यसको उचित ढंगले सम्मान गर्नसके समाज र राष्ट्र विकासमा टेवा पुग्न सक्छ। इकान्तिपुरबाट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com