जीवनको यथार्थ अनुभूति

आफूले भोगेको अनुभव एक सत्य कथा हो भन्छन। आज मैले मेरो प्रिय बस्तु मेरो जीवनबाट गुमाउनु पर्दाको केहि अनुभव यस संसारलाई बाड्न मन लाग्यो। सृष्टिकर्ता मेरी आमा हिरा कुमारी गुरुङको स्वार्ग आज भन्दा झन्डै १५ बर्ष पहिल्यै ६९ बर्षको उमेरमा भएको थियो। त्यस बेला म उहाँको नजिकै बस्ने भएकोले मैले उहाँको केहि सेवा गर्ने सौभाग्य मिलेको थियो। 

निकै लामो समय सम्म मेरी आमा बिमार हुनु भयो। उहाँको त्यस दुखाईको अनुमान गर्दा अहिले पनि बेला बेलामा रुन्छु। हस्पातलमा डाक्टरले औषधि दिन्छ तर बिरामीले औषधि पचाउन सक्ने क्षमता डक्टरले बुझ्न नसक्ने कुरा रहेछ। जो आउछ औषधि खाउ भन्छ मेरी आमालाई तर उहाँको दुखाई उहाँ सँगै थियो पछि केहि सिप नलागेर डाक्टरलाई मैले औषधि लेख्नबाट रोकिदिए। त्यसको केहि घण्टामा नै मेरी आमाले यस धर्तीबाट सदाको लागी बिदा लिनु भयो। त्यस पिडाबाट उहाँ मुक्त हुनु भयो। आफ्नी प्रिय ममतामयी आमा गुमाउदाको पिडा आफैमा होला तर पनि यहिँ नै कतै आमा र छोरी बिचको धड्कन हो जस्तो पनि लाग्छ। 

आमाको निधनको एक दुई बर्षमा नै उहाँको तिन सन्तानहरु आ-आफ्नो सुन्दर भविष्यको खोजीमा बुवा भन्दा धेरै टाढा गए। हाम्रो लागी हाम्री प्रिय दिदी राम कुमारी गुरुङ भगवान रुपमा आउँनु भयो। बेला बेलामा बुवालाई फोन गर्दा बुवा खुशी रहनु भएको आवाजले उहाँ प्रतिको चिन्ता कहिल्यै लिनु परेन। दिदीले गर्नु भएको वुवा प्रतिको सेवाले हामी सबै सन्तानले बुवाको आशिर्बाद लिने अबशर पायौ। बुवालाई पैसा भन्दा पनि माया र सेवा चाहिएको थियो। जुन मैले दिन सक्ने अवस्थामा थिईन। मैले गर्न सक्ने भनेको दिदीलाई परेको सुख दुखमा साथ दिएर उहाँलाई खुशी दिनु थियो जुन केहि मैले सक्ने अवस्था थिए र केहि गरे पनि। 

मेरी दिदी आफूलाई सधै अभागी ठान्नु हुन्थ्यो। मलाई भाग्यमानीहरु भनेर भन्ने गर्नु हुन्थ्यो। मैले उहाँलाई भन्ने गर्थे- तपाई एउटी भाग्यमानी छोरी हो जसले बुवालाई खुशी राख्न सक्नु भयो। कसले भन्छ तपाई अभागी भनेर? असल कर्म गर्ने मान्छे नै भाग्यमानी हो भनेर। उहाँले जिन्दगीलाई हेर्न नजरमा निकै परिबर्तन ल्यानुभयो। अहिले मेरी दिदी जीवन प्रति धेरै सकारात्मक र खुशी हुनु हुन्छ जुन उहाँको सत कर्मको फल हो यो। फोनको घन्टी बज्यो फोन उठाउदा दिदिले बुवा बिरामी हुनु भएको साथै मसँग बोल्न चाहानु भएको भन्दै फोन मलाई दिनु भयो। बुवाले अब उहाँ नबाच्ने कुरा मलाई प्रष्ट पार्दै दिदीलाई फोन दिनु भयो। त्यसको भोली पल्ट बुवाको निधनको खबर पाए। 

अब मेरो साथमा मेरो आमाबुवाको सम्झना मात्र बाँकी राह्यो। चाहेर पनि शारीरिक हिसाबले आमाबुवाको सेवा गर्न नसक्ला तर कुनै पनि माध्यमबाट आमाबुवाको सेवा गरौ उहाँहरुको चित्त नदुखाउ। यस आधुनिक संसारमा पैसा बिना जीवन चल्दैन जस्तो लाग्छ कतै पैसा नै सबथोक त होईन? यस्तो महसुस हुनु अस्वाभाविक होईन। तर आमाबाबु भन्दा पैसालाई महत्व दिएर सृष्टिकर्ता आमाबाबुलाई नराम्रो बचन दिने, हेला गर्ने मानव पशु भन्दा पनि निच हुनेछ। यो जीवन पैसाले जन्माएको होईन। पैसा बिना पनि जीवन जिउन सक्छ। तर शुन्य हृदय लिएर जीवन जिउनको कुनै अर्थ हुदैन। पैसाले सबथोक पाईन्छ भन्ने भ्रममा नपरौ। 

आमाबाबु, समय र अनुभव पैसाले किनेर नपाईने कुरा रहेछ। मृत्यु पछिको सस्कार संसारिक लोकबाट बच्ने तरिका वा देखावटी गरेर मनलाई शान्ति कहिल्यै नहोला त्यसैले जीवित जीवनलाई निस्वार्थ मनले खुशी दिन सकौ। मन्दिर, गुम्बामा गएर भगवानको नाममा प्रार्थना गरेर पैसा र फलफूल चढाएर मात्र धर्म हुन्छ भन्ने भ्रममा पनि नपरौ। भगवान मन्दिर र गुम्बामा होईन आफ्नै हृदयमा हुन्छ। हरेक प्राणिको हृदयमा हुन्छ। 
संसारमा कयौ ठुला ठुला आपत बिपत पर्दा पनि भगवान प्रकट भएर मदत गरेको कहिल्यै कतै थाहा पाएको छैन तर यस्तो घट्ना पनि छ मानिसले अरुको उपकारको लागि आफ्नो जीवन दिएको छ। भगवान त्यहिँ हृदयमा बस्छ, जसले अरुको दुख महसूस गर्न सक्छ। 

आफ्ना सन्तान प्रति त्याग गर्न सक्ने महान आमाबाबुको सेवा गर्न र उहाँहरुलाई खुशी राख्न कुनै ठुलो महल, चिल्लो कार, रेशमी कपडा चौरासी व्यंजन चाहिदैन। बश उहाँहरुलाई हृदयमा राखौ। निस्वार्थ माया गरौ, मिठो बोली बोलौ। उहाँहरु प्रति गर्व गरौ। भगवान त्यहिँ रुपमा आउनेछ र बस्नेछ जसले उसलाई हृदयमा बास दिन्छ। संसारका कुनै पनि आमाबाबु भगवान कै रुप हुन्।

बिष्णु गुरुङ "एकता" क्यालिफोर्निया, अमेरिका 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com