रगतको अभावमा आकस्मिक प्रसूति सेवा सञ्चालनमा समस्या

काठमान्डू फागुन ६,

भगीरथ अवस्थी : बैतडी– जिल्ला अस्पताल बैतडीमा रक्तदान गर्ने मानिसको अभाव हुँदा आकस्मिक प्रसूति सेवा सञ्चालनमा समस्या आएको छ ।

जिल्ला अस्पतालमा अप्रेशन गरेर बच्चा जन्माउने सम्पूर्ण सुविधा भएपनि रगतको अभावमा समस्या भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिएका छन् । गर्भवती महिलाका परिवारले पनि पूर्वतयारी नगर्ने गरेका कारण अप्रेशन गर्नुपर्ने प्रसूतिलाई रगतकै अभावमा अयन्त्र रिफर गर्नुपरेको डा. अवस्थीले बताए ।

महिला गर्भवती भएका बेलादेखि नै परिवारका सदस्यले गर्ने पूर्वतयारी नहुने गरेको उनको भनाई छ । गर्भवती महिला सुत्केरी हुन आउँदा साथमा बच्चा र वृद्ध मात्र आउने गरेको डा. अवस्थीले बताए । आकस्मिक प्रसूति सेवा उपभोगका लागि रगतको एकदमै आवश्यकता पर्ने भएकाले गर्भवती महिलाको पहिला नै रगत परीक्षण गराई रक्तसमूह छुट्याउनुपर्ने र आवश्यक परेको बेला रगत दिन सक्ने मानिसको समेत व्यवस्था गर्नुपर्ने डा. अवस्थीले बताए ।

जिल्ला अस्पतालमा जटील आकस्मिक प्रसूति सेवा २०६९ सालदेखि सञ्चालनमा आएपछि करिब २०० गर्भवती महिलाको अप्रेशन गरिएको डा. अवस्थीले बताए । जटीलतायुक्त आकस्मिक प्रसूति सेवालाई नियमित बनाउन रगत आवश्यक पर्ने भएकाले यसको दिगो व्यवस्थापन गर्नका लागि जिल्ला अस्पताल बैतडीले सबै सरोकारवालासंग आग्रह गरेको छ । By, healthnews:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com