महिला पुरुषभन्दा कमजोर छैनन्

हिटलरले 'सयपल्ट भने झूटो पनि सत्य हुन्छ' भन्दै अपनाएको रणनीति हाम्रो समाजका अगुवाहरूले पनि अपनाएका छन् । महिलाहरू शारीरिक तथा मानसिक रूपमा कमजोर छन् भन्ने झूटलाई सत्यसरह स्थापित गरिएको छ । अध्ययनहरूले देखाएका छन्, पुरुषले छोटो समयका लागि बढी शक्ति प्रदर्शन गर्न सक्छन् । आफ्नो शरीरमा हुने टेस्टोट्रन हार्मोनका कारण पुरुषको मांसपेशी बढी विकसित हुन्छ, त्यसले गर्दा उनीहरूमा गर्‍हुँगो भारी बोक्ने क्षमता हुन्छ । महिलाको शरीरमा ओइस्ट्रोन हार्मोन हुनाले उनीहरू जैविक दृष्टिकोणले बलिया हुनुका साथै कीटाणुसँग लड्ने क्षमता पनि बढी हुन्छ । शरीरमा बोसो बढी हुनाले महिलाहरू लामो समयसम्म शक्ति सञ्चय गर्न सक्छन् र तुलनात्मक रूपमा उनीहरूलाई मुटुको रोगले पनि कम सताउँछ । 

यसैगरी महिनावारीको स्वचालित शुद्धीकरण प्रणालीले अपेक्षित भु्रणलाई बाह्य रोग-व्याधिबाट बचाउने क्रममा गर्भाशयले महिलालाई जैविक सुरक्षा दिएर पुरुषभन्दा बलियो बनाउँछ । स्पष्ट छ, कुनै पनि हिसाबले महिला पुरुषभन्दा कमजोर छैनन् तर समाजले महिलालाई हेर्ने दृष्टिकोण गलत छ । जुनसुकै उमेर समूह भए पनि महिलाहरूप्रति (केवल पुरुषको होइन) सिङ्गै समाजको धारणा शंकालु छ । त्यसमाथि पनि एकल महिलाहरूप्रति गरिने व्यवहार, उनीहरूप्रतिको धारणा तथा उनका क्रियाकलापमाथिको निगरानी, धर्म, संस्कृति एवं नीति-नियमका नाममा उनीहरूमाथि लगाइने बन्देज तथा थोपरिने आरोपहरू सहिनसक्नु छन् । एकल हुनु महिलाको भाग्यको फल भनेर चित्त बुझाउन खोजिन्छ र उनीहरूको मनोभावनाको शोषण गरिन्छ । महिलाहरूलाई गरगहना र शृंगारमा भुलाएर घरपरिवारको चुलोचौकोभित्र सीमित गरिन्छ । यस्तै महिलालाई आदर्श नारीको उपमाले विभूषित गरिन्छ र उनको संसार साँघुर्‍याइन्छ । 

यही प्रसंगमा म आफ्नै परिवारभित्रको एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । मेरी हजुरआमाले (१९) वर्षको उमेरमा आफ्ना श्रीमान् गुमाउनुपर्‍यो । त्यतिबेला मेरा बुवा तीन वर्ष र फुपू एक वर्षकी हुनुहुन्थ्यो । यो वि.सं. १९८४ को कुरा हो । त्यतिबेला नेपाली समाज कस्तो थियो र त्यसमाथि पनि नेपालको एउटा दुर्गम पहाडी जिल्ला ताप्लेजुङमा विधवा महिलाप्रति गरिने व्यवहार कस्तो थियो अनुमान गर्न सकिन्छ । आफ्नो स्मरण सुनाउने क्रममा एकपटक हजुरआमाले भन्नुभएको थियो-'श्रीमान् बितेको एक वर्ष नबित्दै देवर र सासू पनि बितेपछि दुईवटा केटाकेटीसँग म एक्लै बस्नुपर्‍यो । पछि त्यहाँ बस्न मन लागेन अनि धरान झरें ।' 

करिब ७५ वर्षअघि हाम्रो समाज अनि २० वर्षकी एकल महिलालाई दुई स-साना छोराछोरी, अपरिचित स्थान....कति कष्टकर भयो होला जीवन....? यद्यपि परिस्थितिसँग नडराई उहाँले छोराछोरीको संरक्षण गर्नुभयो । धरानकै पिण्डेश्वर माविमा प्रारम्भिक शिक्षा दिलाई मेरा बुवालाई उच्च शिक्षाका लागि बनारस पठाउनुभयो । छोरीको विवाह गरिदिनुभयो । हरेक समस्यासँग जुधेर परिवार सम्हाल्नुभयो । गत वर्ष वैशाख ६ गते १ सय वर्षको उमेरमा उहाँको मृत्यु भयो । जीवनका अन्तिम दिनहरूमा पनि हजुरआमा उत्तिकै आत्मविश्वासी र जीवनप्रति सकारात्मक हुनुहुन्थ्यो । मैले उहाँलाई देखेर बुझेकी छु, हामी महिला न शारीरिक रूपमा कमजोर छौं, न त मानसिक रूपमा, हामीलाई हजुरआमाले सधैं हौस्याउनुहुन्थ्यो पुरुषसँग होडबाजी गरेर अघि बढ्न, नहेपिन प्रेरणा दिनुहुन्थ्यो । त्यो पुरानो समाजमा पनि उहाँ पुरुषभन्दा साहसी हुनुहुन्थ्यो तर सबै नारीमा त्यस्तो हिम्मत हुँदैन । हामीलाई कमजोर बनाइएको छ, 'कमजोर छौं' भनी झूटलाई पनि जबरजस्ती सत्य बनाइएको छ । 

कलिलो उमेरमा श्रीमान् गुमाएर एक्लै हुनुपर्ने महिला-पुरुषहरूको शारीरिक चाहनाको केन्द्रबिन्दु हुन्छे । एकातिर पुरुषहरूले ओछ्याउने आशक्त आँखाहरूबाट जोगिनुपर्ने हुन्छ भने अर्कातिर समाजका अन्य मानिसहरू उनीमाथि शंकालु नजर बिछ्याउँछन् । जुन पुरुषसँग बोल्यो, हाँस्यो उसैसँग नाम जोडेर कुरा काट्छन्, व्यंग्य गर्छन् । निर्दोष व्यक्तिले झूटो आरोप सहनु कति पीडादायक हुन्छ त्यो सहजै अनुमान गर्न सकिन्छ । श्रीमान्को मृत्युले भित्री-बाहिरी सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा आएको अवस्थामा आत्मविश्वासका साथ अघि बढ्न गाह्रो हुन्छ, त्यसमाथि सादा पहिरनले बढाएको हीनताबोध अनि समाजको कटाक्ष ! यी सब कुरा सहेर, सम्हालिएर हिँड्नु कम चुनौतीपूर्ण कुरा होइन । उमेरजन्य चाहना, रहर तथा आकांक्षाका कुरालाई पनि बेवास्ता गर्न मिल्दैन । भौतिक चाहना तथा आवश्यकता पनि हुन्छन् । एउटा विधुर श्रीमतीको मृत्यु भएको वर्ष दिन नबित्दै पुन: विवाहित हुन्छ तर अठार, उन्नाइस (त्यो भन्दा सानो पनि) वर्षको उमेरमा एक्ली भएकी महिला आजीवन एकल रहन्छे । समाजले बसाएको यो कस्तो नियम हो ? 

छोराछोरीको संरक्षक भन्दै दोस्रो विवाह गरे पनि पुरुषले नारीलाई कामभोगका निम्ति बढी उपयोग गर्छन्, आफ्नो कामेच्छा पूर्ति गर्नु नै पुरुषको पहिलो उद्देश्य हुन्छ । यहाँ मानिसभित्रको शारीरिक इच्छालाई नकारात्मक अर्थ दिन खोजिएको होइन, के त्यस्तै इच्छा महिलामा हुँदैन ? के महिलाको शरीर केवल मांसपिण्ड हो जसमा कुनै कुराप्रतिको आकर्षण वा चाहना हुँदैन ? मानव जीवनमा यौन सम्बन्धको महत्वपूर्ण भूमिका हुन्छ, यो तथ्यलाई योगी, सन्त, महन्तहरूले समेत स्वीकार गरेका छन् । हामीभन्दा केही पुस्ताअघिसम्मको कुरा हेर्ने हो भने, बालविवाह (हुन त बालविवाह अझै पनि प्रचलनमा छ, सोह्र-सत्र वर्षका बालिकाहरूको विवाह हुनुलाई आश्चर्य नमान्ने परिपाटी देखिन्छ) सामान्य मानिन्छ । बालिकाहरू घरमा बस्नुपर्‍र्यो, पुरुषहरू अध्ययन वा कामको सिलसिलामा घरबाहिर जान्थे, रोग-व्याधि एवं दुर्घटना आदिले उनीहरूको मृत्यु हुन्थ्यो अनि ती विवाहित युवती तथा बालिकाहरू आजीवन त्यही श्रीमान्का नाममा सेतो पहिरन लगाएर बस्थे । उनीहरूले खाने, लाउने, बोल्ने, हिँड्ने, गर्ने सबै काम समाजले नियन्त्रित गथ्र्यो, शुभ कार्यमा उनीहरूको उपस्थिति वर्जित गरिन्थ्यो । के यौवनमा उनीहरूलाई केही चाहना हुँदैनथ्यो ? हाँस्न-खेल्न, घुम्न-हिँड्न, बोल्न, रमाइलो गर्न मन लाग्दैनथ्यो ? श्लील र संस्कारयुक्त बनाइने नाममा मानवका न्यूनतम आवश्यकता तथा चाहना कुण्ठित गरेर समाजले के प्राप्त गर्‍यो ? हजारौं नारीको रंगीन सपना तुहाएर नेपाली समाजले कुन उपलब्धि हासिल गर्‍यो ? के यो पितृसत्तात्मक समाजको दमनभन्दा बढी अरू पनि केही हो ? 

द्वन्द्वकालमा धेरै नेपाली महिलाले आफ्ना श्रीमान् गुमाएका छन् सामाजिक परिस्थितिसँग जुधेर उनीहरूले आफ्ना बालबच्चाको पालनपोषण गरिरहेका छन्, धेरै दु:ख सहेर पनि परिवार चलाइरहेका छन् । यसरी परिवार चलाउनुपर्दा एकल महिलालाई निकै गाह्रो यस कारण पनि हुन्छ कि श्रीमान् हुँदासम्म घरको चौघेरामा बाँधिएर रहेका महिलाले श्रीमान्को मृत्युपछि एकाएक आर्थिक उपार्जनदेखिका सारा कुरा सम्हाल्नुपर्ने हुन्छ । 'मानव अधिकारका लागि महिला' नामक संस्थाले गरेको एक अध्ययन प्रतिवेदनअनुसार ६७ प्रतिशत एकल महिला २० देखि ३० वर्ष उमेर समूहका छन् । 

हाम्रा धर्म, संस्कृति, मूल्य-मान्यतामा जति पनि विभेदपूर्ण नियम छन् ती सबैलाई पुनर्लेखन गर्नु आवश्यक छ । परम्पराका नाममा विदेभपूर्ण नियममा झुन्डिनु वर्तमान युग सुहाउँदो कुरा होइन । धर्मका आधारमा लेखिएको कानुनका कारण नेपाली महिलाले सीमाभन्दा बढी विभेद सहिसकेका छन्, सहिरहेका छन्, नेपालको कानुन आफै पुनर्लेखन गर्नुपर्ने अवस्थामा छ । महिलाविरुद्ध हुने सम्पूर्ण किसिमका विभेद अन्त्य गर्ने महासन्धि (सिड) कमिटीले सन् २००४ मा नेपाल सरकारलाई दिएको सुझावपछि केही विभेदपूर्ण कानुन संशोधन भयो (मुलुकी ऐन, एघारौं संशोधन) यसलाई सकारात्मक उपलब्धिका रूपमा लिनुपर्छ तर संशोधनभन्दा पनि अब पुनर्लेखनमै जोड दिए दूरगामी कानुन निर्माण गर्न सकिन्छ ।

 विजया दाहाल, नारी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com