दुई चार लाखको लोभमा कोखलाई दाउ लगाउनु राम्रो कुरा होइन

स्वास्थ्य मन्त्रालय चिकित्सा शाखाका प्रमुख डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको सात सदस्यीय टोलीले सरोगेसीबारे निर्देशिका तयार पारेर कानुन मन्त्रालय पठाएको थियो । वास्तवमा सरोगेसी भन्ने शब्द नेपाली जनमानसमा त्यति सुनिएको शब्द होइन । यसको शाब्दिक अर्थ विश्वप्रसिद्ध विकिपिडियाका अनुसार कुनै पनि दम्पतीले आफू सक्षम भएर पनि स्वास्थ्य या अन्य कुनै कारणले स्वयंद्वारा बच्चा जन्माउन तयार नभएमा त्यस्त्ाा दम्पतीले श्रीमान्को वीर्य वा श्रीमतीको डिम्ब वा श्रीमान् मात्र सक्षम रहेको अवस्थामा श्रीमान्को वीर्य तथा डिम्ब बैंकबाट किनेको डिम्ब वा श्रीमती मात्र सक्षम रहेको अवस्थामा श्रीमतीको डिम्ब तथा वीर्य सरोगेट मदरको पाठेघरमा प्रत्यारोपण गरेर बच्चा जन्माउने प्रक्रियालाई सरोगेसी वा इन भिट्रो फर्टिलाइजेसन भनिन्छ ।

सरोगेट मदरको अर्थ सट्टा आमा अर्थात भाडाकी आमा भन्ने बुझिन्छ । यो कार्य निश्चित रकम र सम्झौतामा गरिने भएकाले सरोगेट मदरको जन्मिएको बच्चाप्रति कानुनी हक भने हुँदैन । विश्व स्वास्थ्य संगठनका अनुसार दस प्रतिशत वैवाहिक जोडीहरूले बच्चा जन्माउन सक्दैनन् । त्यस्ता जोडीमध्ये दुई प्रतिशतले सरोगेसी पद्धतिको आधारमा बच्चा जन्माउन सक्छन । सन् १९८६ मा परोपकारी भावनाबाट प्रेरित हुँदै अमेरिकाबाट सुरु भएको यो चलन अहिले व्यापारिक रूपमा समेत फैलँदो छ । अमेरिका, बेलायत, जर्मनी, क्यानडा, अस्ट्रेलिया मलेसियालगायत अन्य मुलुकमा सरोगेट मदरको अवधारणा छ । सन् २००२ देखि भारतमा पनि सरोगेट मदरको प्रचलन बढ्दै गइरहेको छ ।

पश्चिमा मुलुकमा सरोगेट मदरका लागि प्रशस्त पैसा तिर्न पर्ने भएकाले विदेशीहरूले भारतमा आएर बच्चा जन्माउने प्रवृत्ति बढेको छ । हाल भारतमा मात्र यस्ता हजारौं क्लिनिक खुलेका छन् । सन् २०१२ को जुलाइमा संयुक्त राष्ट्रसंघले गरेको एक सर्वेक्षणअनुसार ३००० भन्दा बढी संख्यामा छरिएर रहेका त्यस्ता क्लिनिकले प्रतिवर्ष ४ सय मिलियन डलरभन्दा बढीको व्यवसाय गरेको देखिन्छ । आज कैयौं नेपाली महिलालाई सरोगेसीका बारेमा थाहा छैन । उनीहरूको स्वास्थ्यसँग जोडिएको यस्तो गम्भीर कुराका बारेमा केही छलफल, बहस र चर्चा परिचर्चा भएको पनि सुनिँदैन भने एकाएक कानुन मन्त्रालयसम्म यो कुरा कसरी अगाडि बढ्यो ? यसमा हामी सबैको जानकारी तथा खबरदारी हुनैपर्छ ।

 आधुनिक चिकित्सा विज्ञानले ल्याएको यो सरोगेट मदरका लागि पीडित हुने भनेको नै गरिब, अशिक्षित र निर्णय क्षमतामा पहुँच कम हुने महिलाहरू नै हो । आज रोजगारीका नाममा, दुई चार लाखको लोभमा परेर आफ्नो कोखलाई दाउमा लगाउनु पक्कै राम्रो कुरा होइन । नेपालजस्तो मुलुकका लागि यो त्यति सुहाउँदो कुरा हो जस्तो लाग्दैन । रोजगारीका लागि अरू नै विकल्पहरू हुन सक्छन् । फेरि यसमै आफ्नै श्रीमान्ले पनि पैसाका लागि श्रीमतीको कोख दाउमा लगाउन सक्छन् । 

सरोगेट मदरका बारेमा खुलमखुला कानुन नै निर्माण भयो भने यसले फाइदा थोरै र बेफाइदा बढी हुने निश्चित देखिन्छ । यहाँका बुद्धिजीवी, कानुन निर्माता तथा अरू बौद्धिक जनसमुदायप्रति हाम्रो अपिल छ । सक्छौ भने चेलीबेटी बेचबिखन गर्ने र बलात्कार गर्नेलाई कडाभन्दा कडा कानुनको व्यवस्था गर । नौ महिना कोखमा राखेर सीमातीत प्रसव बेथा भोग्दै सन्तान जन्माउने आमाका नामबाट नागरिकता दिलाऊ । पैतृक सम्पत्तिमा छोराछोरीलाई बराबरी हकदार बनाऊ । पहिला चेतना र नारी सशक्तीकरणको आवाज बुलन्द गरेर मात्र महिलाको कोखको व्यापार गर्ने नीतिबारे सोच्ने हो कि ?
प्रभा बराल : इकान्तिपुर् ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com