म्याग्दी, सुन्तलाखेतीद्वारा गाउँको परिचय परिवर्तन गर्ने अभियान I

बाबियाचौर (म्याग्दी), ७ माघ,

म्याग्दीको बरङ्जा गाविस–१ का बासिन्दा व्यावसायिक सुन्तलाखेतीमार्फत् गाउँको परिचय नै परिवर्तन गराउने अभियानमा लागेका छन् । अनुकूल वातावरण, भूगोल र बजार सुविधा भएपछि बरङ्जा गाविस–१ मा पर्ने भेँडाबारी र भोर्लेनीका बासिन्दा सुन्तलाखेती विस्तार गरी गाउँलाई सुन्तलाबारीका रुपमा चिनाउने अभियानमा लागेका हुन् । 

मकै, कोदो, गहुँलगायत अन्नबालीको विकल्पमा उनीहरुले धमाधम सुन्तलाखेती विस्तार गरेको स्थानीयवासी कृषक प्रेम गिरीले बताउनुभयो । भेँडाबारी अहिले सुन्तलाबारीमा परिणत भएको छ भने सोही वडाको भोर्लेनी गाउँमा पनि सुन्तलाखेती विस्तार हुने क्रम बढेको छ । भेँडाबारीका ओम गिरी, बेम गिरी र प्रेम गिरीले व्यावसायिकखेती गरेका छन् । 

भोर्लेनीका १७ घरधुरी बासिन्दा पनि सुन्तलाखेती विस्तारको अभियानमा लागेका छन् । बिहानको झुल्के घाम पर्ने पूर्वतर्फ फर्किएको भिरालो पाखोमा अवस्थित भोर्लेनी र भेँडाबारीको भूगोलले कृषकलाई साथ दिएको अगुवा कृषक ओम गिरीले बताउनुभयो । “पहिले वर्षमा पाँच पाथी कोदो फल्थ्यो”–गिरीले सुन्तलाबारी देखाउँदै भन्नुभयो–“त्यही जमिनमा सुन्तला लगाएर रु २५ हजार कमाइ भएको छ ।” 

सुन्तलाखेतीबाट गत वर्ष रु चार लाख ५० हजार आम्दानी गरेका भेँडाबारीका कृषकले यस वर्ष रु सात लाख ५० हजार बराबरको बिक्री गर्ने लक्ष्य राखेका छन् । यहाँको सुन्तला काठमाडाँैको कालीमाटीस्थित मन्डीको बजारमा निकासी गर्ने गरिएको छ । सुन्तला बजारीकरणका लागि कृषक आफँैले लगानी गरेर गाउँमा सडक पु¥याएका छन् । 

भेँडाबारी र भोर्लेनीमा सुन्तला खेतीका लागि आवश्यक सिँचाइ सुविधा पनि उपलब्ध छ । स्वादिलो र रसिलो सुन्तला उत्पादनका हिसाबले प्रसिद्धि कमाएको भेँडाबारीको सुन्तलाले बजार पाउन थालेपछि आसपासमा रहेको अन्य पाखो बारीमा पनि सुन्तलाखेती विस्तार हुने क्रम बढेको छ । सुन्तलाखेतीबाट उनीहरु रोजगारी सृजना र आयआर्जन वृद्धिको पथमा लम्किएका छन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com