बेचिएको छोरी,चेली अभिभावक स्वीकारदैनन् पुनः I


धनगढी, पुस २५ ,

भारतको पलियाबाट उद्धार गरिएकी १३ वर्षीया कुर्मिला नेपाली (नाम परिर्वतन) ६ महिनादेखि माइती नेपालको संरक्षणमा छिन् । 

उनले परिवारजनबाट अभिभावकत्व पाउन नसक्दा संस्थाको संरक्षणमा जानुपरेको बताइन् । भारतको उलासनगरमा काम गर्दै बसेका आमाबुबाको बेवास्ताले उनी बेचबिखनको जोखिममा परेकी थिइन् ।

वर्ष दिनअघि उनलाई आमाबुबाले कैलालीको मालाखेतीस्थित घरमा छाडेका थिए । हजुरआमा र फुपूले दिने दुःख सहन नसकेर उनी घरबाट भागेकी हुन् । आमाबुबा भए ठाउँ जान एक्लै हिँडेकी उनी भारतको पलियामा दलालको फेला परेर झन्डै बेचिएकी थिइन् । उनी बेचिन लागेको जानकारी पाएपछि माइती नेपालले उद्धार गरेको हो । 'त्यसपछि परिवारका सदस्यलाई सम्पर्क गर्दासमेत बेवास्ता गरें,' धनगढीस्थित माइती नेपालका शिवचरण चौधरीले भने, '६ महिनासम्म परिवारले अभिभावकत्व स्विकार्न नआउँदा संस्थाको आवधिक गृह पठाएका छौं ।'

त्यस्तै गत भदौमा भारतको बिहारबाट उद्धार गरिएकी कैलाली निगालीकी १६ वर्षीया किशोरीलाई स्विकार्न अभिभावक मञ्जुर भएनन् । 'उनकै आमाको निवेदनमा उद्धार गरिएकीलाई परिवारले पुनस्र्थापन गर्न गाह्रो मान्यो,' चौधरीले भने, 'त्यसपछि उनलाई पनि आवधिक गृहमा पठाइएको छ ।' आवधिक गृह जान लागेका किशोरी आपmनै घर र्फकने चाहना हुँदाहुँदै पनि अभिभावकको बेवास्ताले संस्थाको शरणमा बस्नुपरेको बताउँछन् । 'घर फर्किने मन थियो,' ती किशोरीले भनिन्, 'तर के गर्ने बुबाआमाले वास्तै गर्नुभएन ।'

कैलाली भन्सार नाकाबाट फर्काइएकी धनगढी ४ की १५ वर्षीया अर्की किशोरीलाई पनि संस्थाले आवधिक गृहमा पठाएको छ । उनीहरूलाई सोमबार सँगै आवधिक गृह पठाएको हो । यसअघि संस्थाले २ किशोरीलाई इटहरीको आवधिक गृह र १ बालकलाई सिविनको जिम्मा लगाएको थियो । बेचबिखनबाट प्रभावितले अभिभावकत्व नपाउँदा संस्थाको संरक्षणमा जानुपरेको चौधरीले बताए । उनका अनुसार माइती नेपालको धनगढी शाखा स्थापनापछि डेढ सयभन्दा बढीको उद्धार गरिसकेको छ । मोहन बुढाएर-इकान्तिपुर :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com