नेपालमा हवाई सेवामा वृद्धि स्तरीय विमानस्थल निर्माण हुँदै I

काठमाडौँ, २५ पुस ,

नेपालमा हवाई सेवाले ठूलो फड्को मारेसँगै हवाई उडानलाई गुणस्तरीय र प्रभावकारी बनाउन स्तरीय विमानस्थल निर्माणको काम तीव्रगतिमा भइरहेको छ ।

सरकारले सहज रुपमा नागरिकलाई हवाई सेवा प्रदान गर्ने ध्येयका साथ विमानस्थल निर्माणको कामलाई अगाडि बढाएपछि विमानस्थल निर्माणको गति बढेको हो । सेवालाई व्यावसायिक र गुणस्तरीय बनाउँदै जनअपेक्षा पूरा गर्नेसमेत सरकारले लक्ष्य राखेको छ । सोही लक्ष्यलाई सार्थक र परिणाममुखी बनाउन सरकारको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लागिपरेको छ ।

क्यानको विवरणअनुसार हालसम्म देशमा छवटा निर्माणाधीनसमेत गरी ५६ वटा विमानस्थल रहेका छन् भने ३२ वटा विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ । निर्माणाधीन विमानस्थल–कालिकोट, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, लमजुङको शीतलेस्वार, गुल्मीको सिमिचौर, इलामको सुकीलुम्बा र अर्घाखाँचीको अर्घा भगवती रहेका छन् । क्यानका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले मुलुकमा हवाई सेवाको गुणस्तरका साथै विमानस्थल विस्तारका लागि लागिपरेको बताउनुभयो ।

नेपालको पर्यटन प्रवद्र्धनको महत्वपूर्ण माध्यम हवाई क्षेत्र भएकाले यसको विकास विस्तारका लागि क्यान अघिबढेको भन्दै उहाँले सन् २०२३ देखि अहिलेको त्रि. अ. वि. को क्षमता साँघुरो हुने भएकाले नेपालमा पर्यटक बढाउन अर्को अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको खाँचो औँल्याउनुभयो ।

महाप्रबन्धक सुमनका अनुसार बाराको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको छ । धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय कार्गो हवका रुपमा स्थापित गर्ने र नेपालगन्ज, विराटनगर विमानस्थललाई क्षेत्रीय हब बनाउने क्यानको तयारी छ ।

पछिल्लो एक वर्षको अवधिमा रुकुम (सल्ले), दाङ, रुम्जाटार, बाजुरा र फाप्लु विमानस्थलमा कालोपत्र गर्ने कार्य सम्पन्न भएकोे क्यानले जनाएको छ ।

ताप्लेजुङ, भोजपुर, रामेछाप, खोटाङको मनमाया राई खानी डाँडा, रुकुम (चौरजहारी), डोल्पा (जुफाल) र रारा (मुगु) विमानस्थलमा कालोपत्र कार्य भइरहेको छ । इलामको फाल्गुनन्द विमानस्थलमा रन्वे स्ट्रीप तयार भई परीक्षण अवतरणको तयारी भइरहेको क्यानको पछिल्लो प्रगति विवरणमा उल्लेख छ ।

उदयपुरको सगरमाथा विमानस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्माण सहमति प्राप्त भई (इआइए) प्रक्रिया अघि बढेको तथा प्युठानको चाल्नेटार, पाल्पाको रामपुर र सोलुखुम्बुको गुदेलमा नयाँ विमानस्थल निर्माणका लागि प्रारम्भिक अध्ययन कार्य सम्पन्न भएको क्यानले जनाएको छ । त्यसैगरी धनगढी विमानस्थलमा निर्मित टर्मिनल (टावर) भवन सञ्चालनमा आएको छ । सिनामङ्गल कालिमाटीडोलमा प्रधान कार्यालयको पहिलो चरणमा करिब रु ७० करोडको लगानीमा १० तले भवन निर्माणको काम सुरु भएको छ । जनकपुर विमानस्थलको नयाँ टर्मिनल (टावर) भवन निर्माण कार्य जारी रहेको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com