जगदम्बा उद्योगमा आगलागी हुँदा करोडौँको क्षति I

वीरगन्ज (पर्सा), ५ माघ ,

वीरगन्ज पथलैया औद्योगिक क्षेत्रस्थित सिमरामा रहेको जगदम्बा उद्योगमा आज बिहान आगलागी हुँदा करोडौँको क्षति भएको छ । बिहान करिब ३ बजेतिर उद्योगको एसआरएम प्लान्टमा आगलागी भएको हो । 

विद्युत् सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति व्यापक भएको जगदम्बा उद्योगका प्रशासकीय अधिकृत कुन्दन ढकालले जानकारी दिनुभयो । 

उहाँले उद्योगको महत्वपूर्ण प्लान्टमा आगलागी भएका कारण रु एक करोडभन्दा बढी नै क्षति भएको उल्लेख गर्नु भयो । आगलागीमा परी उद्योगको कुलिङ बेड, तीसवटा मोटर, बिजुलीका केबल तथा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ जलेर खरानी भएको प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।आगलागी बाट कारण आज बिहानबाट उद्योगको उत्पादनमा पनि अवरुद्ध भएको ढकालले बताउनुभयो । 

आगो इलाका प्रहरी कार्यालय सिमरा, वीरगन्ज उपमहानगरपालिकाको बारुण यन्त्र तथा नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्ज बारुण यन्त्रको सहयोगमा करिब ४ः३० बजे मात्रै आगो नियन्त्रणमा आएको जगदम्बा उधोगले जनाएको छ । वीरगन्ज पथलैया औद्योगिक क्षेत्रमा पर्ने सो उद्योग नेपालकै ठूलो उद्योगका रुपमा चिनिने गर्दछ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com