कञ्चनपुरमा उत्पादित विजयसालका भाँडा विदेश निर्यात I

कञ्चनपुर, ४ माघ,

कञ्चनपुरको भीमदत्तनगरपालिका–१ भाँसीमा रहेको मेरिष्ट काष्ठ उद्योगले उत्पादन गर्दै आएको विजयसालका भाँडा विदेश निर्यात हुन थालेको छ । बहुऔषधिका रुपमा प्रयोग हुने विजयसालको काठबाट उद्योगले एकदशकअघिदेखि अम्खोरा, गिलास, कप, जगलगायतका भाँडा निर्माण गर्दै आएको छ । 

दैनिक ३० देखि ४० को हाराहारीमा विजयसालका भाँडा उत्पादन गर्दै आएको उद्योगले उत्पादित भाँडाहरु पोखरा, विराटनगर, वीरगन्ज र काठमाडौँलगायतका व्यापारीलाई बेच्दै आएको उद्योग सञ्चालक मदनराज भट्टले बताउनुभयो । यहाँबाट लगेका भाँडा व्यापारीहरुले चीन, रुस, जापानलगायतका मुलुकमा निर्यात गर्दै आएको उहाँले बताउनुभयो । 

विजयसालको काठबाट निर्मित भाँडामा राखेको पानी पिउँदा ग्यास्ट्रिक, बाथ, जोर्नी दुखाई र ज्वरो निको पार्ने हुनाले विदेशमा विजयसालका भाँडाको बढी माग भएको उहाँले बताउनुभयो । भाँडा निर्माण गर्दा निस्कने विजयसालको काठको धुलोसमेत प्लास्टिकको प्याकेज बनाई बिक्री हुने गरेको उद्योगका अर्का सञ्चालक गणेश बोहराले बताउनुभयो । 

दुवैजनाले आफैँ मालिक आफैँ कामदार बनेर सञ्चालन गरेको उद्योगबाट राम्रै आम्दानी हुन थालेपछि दुईवटा भाँडा निर्माण गर्ने मेसिनसहित छजना कामदार राखेर भाँडा निर्माणको कार्य हुँदै आएको उहाँले बताउनुभयो । “कामदारको तलब, घर खर्च चलाएर मासिक रुपमा उद्योगले रु ४० हजारभन्दा बढी आम्दानी दिने गरेको छ”, उहाँले भन्नुभयो । 
विजयसालका भाँडाको माग देश विदेशबाट अत्यधिक मात्रामा आउने गरेको भए पनि सामुदायिक वनमा विजयसाल मासिँदै गएका कारण काठ पाउन अप्ठ्यारो हुने गरेको उद्योग सञ्चालकहरुको भनाइ रहेको छ । उद्योगको कमाईबाट पूर्व–पश्चिम राजमार्ग छेउ पक्की घर, घडेरी, मोटरसाइकल ट्र्याक्टर खरिद गरी आत्मसम्मानको जिन्दगी बिताउनका लागि सम्भव भएको उद्योग सञ्चालकहरु बताउँछन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com