महिला प्रजनन स्वास्थ्यलाई विशेष प्राथमिकतामा महिला स्वस्थकर्मिको जोड I

काठमाडौँ, १७ माघ,

बेइजिङमा यही मार्च ९ देखि २० सम्म हुन लागेको बीस वर्षे सिंहावलोकनमा महिलाको प्रजनन स्वास्थ्यलाई विशेष प्राथमिकता दिनुपर्ने युवा स्वास्थ्यकर्मी महिलाले जोड दिएका छन् ।

मिड्वाइफ्री सोसाइटी अफ नेपालले आज आयोजना गरेको ‘युवा महिला भेला’ मा सहभागी हुन आएका महिलाले चाहना विपरीत छोराको बाहनामा बढी बच्चा जन्माउनुपर्ने, छोराकै लागि धेरै छोरी बच्चाको भ्रुण हत्या गर्नुपर्ने, महिलाको आफ्नो शरीरप्रति हक नहुने, कम उमेरमा बच्चा जन्माउँदा पाठेघर खस्नेलगायतका समस्या भएकाले ‘महिला र स्वास्थ्य’ अन्तर्गत महिला स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन् ।
संयुक्त राष्ट्रसङ्घ महिला अधिकारसम्बन्धी समितिको ५९औँ बैठकमा बेइजिङ सम्मेलनको २० वर्षे सिंहावलोकन हुन लागेकाले नेपालका महिलाका अवस्थाबारे प्रतिवेदन तयार पार्दा महिलाको प्रजनन स्वास्थ्यको कुन–कुन विषयलाई समावेश गर्नुपर्छ भनेर निचोड निकाल्न भेला आयोजना गरिएको मिड्वाइफ्री सोसाइटी अफ नेपालका संयोजक स्मृति थापाले बताइन् ।

महिला प्रजनन स्वास्थ्य, वातावरण, कानुन, सञ्चार, लैङ्गिक समानता, यौनिक तथा अल्पसङ्ख्यक लगायतका क्षेत्रबाट ४५ जना सहभागी युवा महिला सहभागीले किशोरी विवाह, बालश्रम, बालिका यौन दुव्र्यवहार, कार्यस्थलमा हुने हिंसा, निर्णायक तहमा महिलाको सहभागिता, दाइजोजस्ता समस्याको समाधानका लागि पनि सो २० वर्षे सिंहावलोकनका लागि तयार गरिएको प्रतिवेदनमा समावेश गर्नुपर्ने धारणा सो भेलामा आएको थियो ।

बेइजिङ सम्मेलनपछि हरेक पाँच/पाँच वर्ष प्रत्येक देशका महिला आन्दोलनमा कस्ता उपलब्धि भए । महिला आन्दोलनमा सोचेअनुरुप विकास हुन सक्यो कि सकेन भनेर अध्ययन गरिन्छ । पाँच वर्ष अगाडि बेइजिङ १५ मा पनि नेपालले नेपाली महिलाको अवस्थाबारे प्रतिवेदन बुझायो । लक्ष्यअनुरुप महिलाका सबै सवालमा लक्ष्य पूरा गर्न नसके पनि महिला शिक्षा, कानुनीरुपमा र सहभागिता गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।

सन् १९९५ मा चीनको राजधानी बेइजिङमा भएको संयुक्त राष्ट्रसङ्घीय चौथो महिला सम्मेलनको बीसौँ वर्षगाँठको उपलक्ष्यमा नेपालमा ‘मानवताका लागि महिला सशक्तीकरणः व्यवहारमा उतारौँ’ भन्ने नाराका साथ सन् २०१५ को मार्च ९ देखि २० सम्म संयुक्त राष्ट्रसङ्घ महिला अधिकारसम्बन्धी समितिको ५९औँ बैठकमा बेइजिङ सम्मेलनको २० वर्षे सिंहावलोकन हुन लागेकाले नेपालका महिलाका अवस्थाबारे प्रतिवेदन तयार पार्न लागिएको हो ।

सो सम्मेलनमा बेइजिङ सम्मेलनले तय गरेका महिलाका सरोकारका १२ वटा सवाल रहेका छन् । त्यसमा नेपालले दुई सवाल थप गरेको छ । ती सवालमा महिला तथा गरिबी, महिला शिक्षा तथा तालिम रहेका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com