महिला स्वतन्त्रता कि पुरुषसँग होडबाजी ?

बिशाखा : केही महिनाअघि एउटा कार्यक्रममा महिला पत्रकार सम्बन्धि एनजिओ चलाउने संस्थाकि अध्यक्ष शर्मा थरकी एक वरिष्ठ महिला पत्रकारले तालिममा सहभागि एक महिला पत्रकारको पारिवारिक खोजविन गर्दै उनको आमाको उमेर सोध्न पुगिन् । 

तीनले “७५ वर्ष भै सक्नु भो” भन्ने जवाफ दिनासाथ ती वरिष्ठ महिला पत्रकार तथा महिला अधिकारवादी तीनले “तँपाईको आमाको बिहे गरिदिनुस् न भनिन्” । ती बिचरीले जिल्लिदैं भनिन् “घरभरि नातिनातिना भएका र वैष्णव मेरी आमाको बारेमा त्यस्तो कुरा पनि गर्ने हो” भनेर प्रतिवाद गर्दा ती घमण्डी महिला पत्रकारले बमकफुसे तर्क गर्दै भनिन् “७४ वर्षको अवकाशप्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहराले ५० वर्षकी अभिनेत्री मिथिला शर्मासँग बिहा गर्नु हुन्छ, तँपाईको आमाले किन गर्नुहुन्न, खुरुक्क एउटा बुढो खोजेर बिहा गरिदिनुस्, तँपाईलाई काम गर्न सजिलो हुन्छ ।” 

सँगै रहेका नेपालको नाम चलेको पाक्षिक पत्रिकामा सम्पादक भइसकेका, पत्रकार महासंघका पूर्व अध्यक्ष तथा उनका पुरुष मित्र ती वरिष्ठ पत्रकार यो कुरा सुन्दै, टुलुटुलु हेरेर बसिरहे तर केही बोलेनन् । ६ वर्षअघि वीरगंजका महिला पत्रकारहरुलाई फिचर लेखनको तालिममा आफ्ना यिनै स्वनामधन्य वरिष्ठ पत्रकार पुरुषसाथीसँग यी शर्मा थरकी तथाकथित महिलाले गरेको प्रेमलीला र रासलीलाको वीरगंजका पत्रकारहरु प्रत्यक्षदर्शी नै छन् । यी दुबै कति पानीमा छन् सबैलाई थाहा भएकै कुरा हो । ती पैसा र पदले मात्तिएकी महिला जसको लेखहरु तिनै पुरुषमित्रले लेखिदिएर उनको नाममा नेपालको चर्चित दैनिकमा छापिन्छ । त्यस्ता दोहोरो चरित्र भएकी महिलासँग के बोल्नु भनेर उनी लाजले भुतुक्क हुँदै चूप लागिन । 

नेपालका महिला पत्रकार, समाजसेवी, मानव अधिकारवादी र एनजिओ आइएनजिओमा कार्यरत जतिपनि महिला छन् ती पुरुषसँग प्रतिष्पर्धा गर्ने लहडमा आफ्नो अस्तित्वलाई नामेट पार्न खोज्दैछन् । तीनलाई लाग्छ महिलालाई दोस्रो दर्जाको नागरिक पुरुषहरुले नै बनाएका हुन् र तीनलाई टक्कर दिन उनीहरुले जे जे खराब काम गर्छन् त्योभन्दा दोब्बर खराब काम गरेर आफुलाई सावित गर्नुपर्दछ । त्यसैले कुनै पार्टीमा पुरुषहरुले ४ पेग रक्सी पिउँदछन् भने महिलाले ८ पेग पिएर उनीहरु भन्दा बढी आधुनिक देखाउँछन् । कुनै पुरुषका २ जना महिलामित्र छन् भने त्यस्ता प्रवृतिका महिलाहरु ४ जना पुरुषमित्र बनाएर गौरवान्वित भएको ठान्दछन् । ती तथाकथित वरिष्ठ महिला पत्रकारका छोरीहरु ठूला भइसके विदेशमा पढ्छन् तर उनलाई सामाजिक बोध पटक्कै छैन । 

पार्टीहरुमा अबेरसम्म बस्ने र पिएर आफ्नो लुगा जीउबाट सरेको पत्तो नपाउने ती महिलाकालागि आधुनिक हुनु भनेकै लोकलाज त्यागेर नाँगो हुनु हो । केही वर्षअघि तालिमको सिलसिलामा सिन्धुपाल्चोक गएकी यिनले त्यहाँका छोरी, बुहारीहरुलाई महिला अधिकारको नाममा परिवारबाटै अलग्याउन खोजेपछि यिनलाई ती महिलाका परिवारजनले लखेटेर भगाएका थिए । अरुको कुरा सुन्नै नचाहने एकोहोरो महिला अधिकार र स्वतन्त्रताको कुरा गर्ने निहुँमा यिनी आफ्नो संस्थाले दिने तालिममा नवप्रवेशी महिला पत्रकारको बेइज्जती गर्न पनि पछि पर्दिनन् । पद र पैसाको रोबदाब अनि आफ्नै गाडी चलाएर हिंड्ने यिनी गरिब घरका महिला पत्रकारलाई “आफ्नो ल्यापटप किन नकिनेको ३५ हजार रुपैंयामा ल्यापटप पाइन्छ” भन्दै हकार्छिन् । 

उनको संस्थाले महिलाको बारेमा फिचर लेखे वापत दिने तीन हजार रुपैंया जम्मा पारेर ल्यापटप किन्नकालागि सुझाव दिन पनि पछि पर्दिनन् । बारम्बार विदेश भ्रमण पनि गरिसकेकी यिनको दिमागको बिर्को अहिलेसम्म खुलेको छैन । मात्र आफु र आफ्नो संस्थाले गरेको कामको मात्र बखान गर्ने र ठूला मीडियाका पत्रकारहरुका सामुन्ने लम्पसार पर्न लाज, घिन नमान्ने यिनकोलागि महिला अधिकार भनेकै पुरुषले गर्ने राम्रो काम मात्र हैन नराम्रो काम पनि महिलाले गर्न पाउनु हो । त्योबेला उनी बिर्सिन्छिन् कि महिलाले पहिलेदेखि नै पुरुष भन्दा बढी काम गरि नै रहेकाछन् । तर नाम र पदले उन्मत्त उनी आफ्नो धरातल बिर्सिरहेकी हुन्छिन् । 

पुरुषसँग पार्टीमा नाच्नु र बोतलका बोतल वियर तन्काउनुलाई नै महिला मुक्तिको नाम दिने ती महिलालाई शायद थाहा छैन कि संसारमा प्रतिष्पर्धा भनेकै दिमागको दिमागसँग हो । मान्छेको बाहिरी आवरण, लवाई, खवाई तथा घर र गाडीको चमक–दमकलाई महत्वपूर्ण ठानेर त्यसैसँग प्रतिष्पर्धा गर्न खोज्नेहरु गोबर–गणेश हुन् । महिलाको त्यति हितचिन्तक बनि टोप्ल्ने उनी किन नेपालगञ्जमा महिलाहरु दाईजोको नाउमा जिउँदै जलाउँदा विरोध गर्दिनन् । अनि तराईमा बोक्सीको आरोप लगाएर महिलालाई चरम यातना दिदैं गाउँबाट निकाल्दा उनको थुथुनोबाट किन बोली फुट्दैन । 

अनि दिनहुँ बलात्कारको शिकार भएर महिलाले पीडा खप्नुपर्दा ती निर्दोष महिला तथा बालिकाको न्यायकोलागि उनी आवाज उठाउंदिनन् । मात्र पाँचतारे होटलमा देशका स्वनामधन्य पुरुषहरुलाई डाकेर महिलाको समस्यामा छलफल गरेर निकास निस्कन्छ ? किन उनी ती महिलाहरुको न्यायको पक्षमा कुनै नेतृत्व लिन्नन् ? किनकी तीनलाई थाहा छ विदेशबाट उनले महिला पत्रकारहरुकालागि खोलेको संस्थाले जुन डलर दिन्छ त्यसले फाइलमा प्रोजेक्ट बनाउन, पाँचतारे होटलमा कार्यक्रम गर्न र रक्सीको भोज गर्नकालागि मात्र हो । दिउसो पुरुषको विरोध गर्दै महिला अधिकारको कुरा गर्ने र साँझ परेपछि तिनै पुरुषहरुसँग नगरकोटको कुनै होटलमा मस्तसँग नाच्दै रक्सी पिउने र रातलाई थप रंगिन बनाउनकालागि मात्र हो । 

टुप्पाबाट पलाएका यिनै महिलाहरुले गर्दा साँचो अर्थमा महिलाहरु पछि परेकाछन् । महिलाको योग्यता बढाउनुभन्दा आरक्षण दिलाउने, हिंसा पीडित महिलालाई न्यायकालागि अगाडि बढाउनु पर्नेमा पुरुष जातिको विरोध गर्ने र त्यस्ता महिलाको पीडा भजाएर डलर कमाउने मात्र हो । हैन भने ७५ वर्षकि विधुवा तर परिवार र सम्पतिले सन्तुष्ट महिलाको अर्को बिबाह गराउनेतर्फ उनको आँखा किन गयो ? त्यहीबेला वीर अस्पतालको बेडमा गँगामाया अधिकारी आफ्नो छोराको हत्यारा पत्ता लगाएर न्याय दिलाउनका लागि करिब एकवर्षदेखि अन्नजल त्यागेर बसेकी थिइन् । 

ती अबला गँगा मायालाई न्याय दिलाउनकालागि उनको ध्यान किन तानिएन् किनकी गँगामायाको श्रीमान त्यसबेला जिउँदै थिए । त्यसैले उनलाई लाग्यो विधवा र एकल हुँदैमा महिला कमजोर हुन्छन् र तिनलाई पुरुषको आश्रय आवश्यक पर्दछ । उनी आफैले धेरै पुरुषको आश्रय चाखिसकेकी र महिला, पुरुष सम्बन्धको बारेमा ज्यादै चाख लिएर गफ गर्ने उनको दिमागले यो भन्दा बढी सोच्नपनि सक्दैन । के सबै महिला श्रीमानको मृत्यु भएपछि दोस्रो बिबाह गर्न मरिहत्ते नै गर्छन् होला ? कतिलाई मन लाग्दो होला तर कतिले पहिलो विवाहबाटै सुख–दु:खको अनुभव गरिसकेका हुनाले दोस्रो विवाहकोलागि अनिच्छुक पनि हुन्छन् । 

सबै विधवा महिलाले दोस्रो विवाह गर्ने हो भने तीनका सन्तानको भविष्य कस्तो हुन्छ होला ? के दोस्रो विवाहपछि सौतेनी बाउले त्यति नै माया गर्छन् ती बच्चाहरुलाई ? अनि के ग्यारेण्टी छ दोस्रो विवाह सफल हुन्छ नै भनेर ? मान्छेलाई प्रेम र शरीरको भोकलेभन्दा बिहान बेलुकाको गर्जोले बढी तान्दछ । तर हैन ती महिलाकालागि मान्छेको जीवन भनेकै भोग्नकालागि हो । चाहे त्यो घरमा भोग्नुस् वा होटलमा गएर कुनै पुरुषमित्रसँग । 

समाजको कुनै नियम कानुन नमान्ने र हरेक मर्यादाको धज्जी उडाउने ती शर्मा थरकी महिलाकै कारण नेपालका महिला पत्रकारहरु बदनाम छन् । हैन भने एउटी ७५ वर्ष पुगिसकेकी पितृ समान महिलाकालागि दोस्रो बिवाह गर्ने सल्लाह दिँदा उनलाई थोरै भएपनि लाज लाग्नुपर्ने हो । तर खै उनलाई लाज लागेन, शायद उनी पनि आफ्नो श्रीमान बितेको भोलिपल्टै अर्को बिबाह गर्छिन होला ? 

अन्तमा जाँदाजाँदै ती शर्मा थरकी मात्तिएर भूइँमा न भाडाँमा भएकी वरिष्ठ महिला पत्रकारलाई भन्न मन लागेको छ “ महोदया पुरुषले चुरोटको सर्को तान्यो भन्दैमा महिलाले पनि म त्यो पुरुषभन्दा के कम भन्दै चुरोटको सर्को तान्दै हिंड्ने हैन कि, ती पुरुषलाई चुरोट पिएर हुने हानी र यसबाट लाग्ने रोगहरुको बारेमा सतर्क गराउदै चुरोट पिउन छोडाउने प्रयास गर्नु नै एउटी दिमाग भएकी महिलाको बुद्धिमत्ता ठहरिनेछ ।” 

समाज र देशले चाहेको पनि त्यही हो आफ्नो हक अधिकारप्रति सचेत तथा अर्काको नक्कल गर्दा अक्कल लगाउने बुद्धिमान महिलाहरुको जमात ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com