हिन्दु धर्म: मधेसी नेताको धारणा के हो ?

बबिता बस्नेत : केही बर्षअघिसम्म विश्वको एक मात्र हिन्दुराष्ट्र नेपालमा अहिले हिन्दुराष्ट्र घोषणाका लागि दबाब दिने अभियान निकै रफ्तारमा अघि बढेको छ । नेपालका हिन्दु मात्र नभएर मुस्लिमहरू समेत यो मुलुकलाई हिन्दु राष्ट्र नै बनाउनु पर्छ भनेर आवाज उठाइरहेका छन् । यसै हप्ता नेपालगञ्जमा मुस्लिमहरूको एक सभाले नेपाल हिन्दुराष्ट्र थियो, छ र रहनुपर्छ भन्ने निर्णय ग¥यो । 

राप्रपा नेपालको रथयात्रामा मुस्लिमहरूको राम्रै सहभागिता रह्यो । यता नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्काको हिन्दुराष्ट्र अभियानमा पनि किराँत, बौद्ध र मुस्लिमहरूको सहभागिता देखिन्छ । बुद्धिष्ट ओमकार परिवारभित्रकै भएकाले यसमा फरक मत नहुनु स्वभाविक नै मानिन्छ पनि । हिन्दुराष्ट्र भएकै बेला राजदरबारअगाडि दुइ दुईवटा मस्जिद निर्माण हुनुलाई हिन्दु–मुस्लिमबीचको सौहाद्र्धताकै रूपमा लिनुपर्छ सायद । हिन्दुराष्ट्र नेपालको राजधानीकै मुटुमा किन मस्जिद निर्माण गरियो भनेर न कुनै सनातनी हिन्दुले प्रश्न ग¥यो न त त्यसलाई आश्चर्यको विषय नै ठानियो । 

हिन्दुराजाको दरबारअघि जामे मस्जिद धार्मिक सहिष्णुताको नमुना थियो । बरु अहिले धर्मनिरपेक्ष भएका बेला त्यस्ता ‘प्राइम लोकेसन’मा मस्जिद निर्माण गर्न त्यति सहज देखिँदैन । मुस्लिम र हिन्दुबीचको समानता के पनि छ भने उनीहरू पनि हिन्दुले झैँ कसैलाई जबर्जस्ती धर्म परिवर्तन गर्न लगाउँदैनन् र कसैले गरेको राम्रो पनि मान्दैनन् । हिन्दुधर्मका बारेमा अहिले जे–जस्ता अभियानहरू चलिरहेका छन्, त्यसमा तराईका जनताको विशेष चासो र सहभागिता देखिएको छ । 

वास्तवमा जनआन्दोलन, माओवादी आन्दोलन कसैको पनि एजेण्डा नरहेको धर्मनिरपेक्षता एकैपल्ट संविधानसभाबाट घोषणा भएपछि यो मुलुकमा कसैले आस्थावान भएर हिन्दु धर्मलाई जोगाएको छ भने ती तराईवासी हुन् । आ–आफ्नो ठाउँअनुसार अरूले पनि धर्म जोगाउने काम गरे र गरिरहेका होलान्, तर तराईका जिल्लाहरू मात्रै अहिले यस्ता जिल्ला हुन् जहाँ चर्चहरूले फैलने मौका पाएका छैनन् । कतिपय जिल्लामा त प्रवेशै पाएका छैनन् । केही जिल्लामा प्रवेश पाए पनि पहाडी जिल्लामा जस्तो फैलन भने पाएका छैनन् । 

मुलुक धर्मनिरपेक्ष भएपछि यहाँ सात हजारभन्दा बढि चर्च खुलेका छन् र धर्म परिवर्तन गराउने ठुलो गिरोह गाउँ–गाउँका कुना–कुनामा सक्रिय भएको छ । पहाडी जिल्लाहरूमा सिमाना सुरु भएदेखि अन्त्यसम्म अनेक आकार–प्रकारका चर्चहरू देख्न पाइन्छ । चर्चका सङ्ख्यासँगै नवधर्मधारीहरू ‘रेकर्डेड भ्वाइस’झैँ भटटट प्रभुका नाममा प्रवचन दिइरहेका भेटिन्छन् । क्रिश्चियन भएपछि कुनै रोग नलाग्ने, घरमा सम्पन्नता छाउने, छोराछोरीबाट दु:ख नहुने, लागेको रोग निको हुने, दुई–चार पैसाको खाँचो नहुने जस्ता जोसँग जे छैन त्यही कुरा गरेर धर्म परिवर्तन गराउने काम भइरहेको छ । आफ्नो धर्म, आमा र राष्ट्र उस्तै हुन् भन्ने मान्यता राख्ने यो पङ्क्तिकारलाई अरूको धर्मप्रति पनि त्यत्तिकै श्रद्धा छ । 

जन्मजात कुनै क्रिश्चियनले चर्चप्रति आस्था राखेन या चर्चहरूको संरक्षण गरेन भने त्यो गलत हुन जान्छ । मस्जिद र मुस्लिम या अन्य कुनै पनि धर्मसँगको कुरा मानिसको आफ्नो जीवनको आस्था र विश्वाससँग जोडिएको कुरा हो । तर, आफुले धर्म मान्ने, धर्मप्रति आस्था राख्ने र धर्म परिवर्तन गर्ने या गराउने भन्ने कुरा फरक हो । के हामीले आफ्नी आमा परिवर्तन गर्ने कल्पना गर्न सक्छौँ ? या आफ्नो देश फेर्ने कुरा सोच्न सक्छौँ ? धर्म परिवर्तन पनि त्यस्तै हो । त्यस्ता मान्छेले मात्रै धर्म परिवर्तन गर्न र गराउन सक्छन् जो सहज रूपमा आफ्नो देश र आमालाई परिवर्तन गर्ने बारेमा सोच्न सक्छन्, क्रियशील हुन सक्छन् । हामीकहाँ गरिबीको फाइदा उठाएर धर्म परिवर्तन गर्न सक्रिय हुनेहरूको सङ्ख्या बढ्दै गएको छ । 

मुलुक धर्मनिरपेक्ष हुनुको अर्थ यहाँ जे गर्दा पनि हुन्छ भन्ने होइन । तर धर्म परिवर्तन गराउनेलाई के–कस्तो सजाय गर्ने भन्ने बारेमा कुनै नीति कानून नहुँदा धर्मको नाममा यहाँ धेरै कुरा भयो । सीमित मान्छेले गरेको विभेदलाई देखाई तिमीहरूमाथि विभेद धर्मले गरेको छ भन्दै दलितहरूलाई आकर्षित गर्ने, आर्थिक लोभ–लालच देखाएर अरूलाई धर्म परिवर्तन गर्न लगाउने काम यहाँ विस्तारित रुपमा हुँदै गएको छ । गरिबी, विभेद र सोझासाधा जनतालाई गुमराहमा पार्ने काम पहाडमा तीव्र भए पनि मधेशमा भने यस प्रकारको गिरोहले प्रवेश पाउन सकेको छैन । आखिर गरिबी त मधेशमा पनि छ, दलित त त्याहाँ पनि छन, विभेद र अशिक्षा त तराईमा जताततै छ, तर पनि चर्चहरूले किन ठाउँ पाउन सकेका छैनन् त ? यो प्रश्नको एउटै उत्तर छ, हिन्दु धर्मप्रति तराईवासीको अगाध आस्था र विश्वास । तराईवासीको आस्थालाई बुझेका कारण पहाडमा चीनको सीमासम्म पुगेका गिरोहहरू मधेशका गाउँघरहरूमा पुग्न सकेका छैनन् । 

विश्वास दह्रो भए लालचले भत्काउन सक्दोरहेनछ भन्ने कुराको उदाहरण पनि हो यो । माघ ८ गते संविधान बने पनि नबने पनि घोषणा गरिएको मिति नजिकिँदै जाँदा अहिले विभिन्न राजनीतिक दलहरूमा धर्मको कुराले पनि स्थान पाइरहेको छ । तर, मधेशकेन्द्रित राजनीतिक दलहरूको भने धर्मका बारेमा कुनै भनाई सार्वजनिक भएको छैन । हिन्दु धर्मका बारेमा या अहिले धर्मका नाममा जुन प्रकारको चलखेल मुलुकमा भइरहेको छ, यसका बारेमा मधेशी दलहरूको धारणा के हो ? सङ्घीयताका सवालमा एक मधेश एक प्रदेशदेखि त्यस्तैपरे राज्यै टुक्राइन्छ भन्नेसम्मका कुराहरू बाहिर आए पनि हरेक मानिसको आस्था र विश्वाससँग जोडिएको धर्मको कुरा छायामा पारिनुलाई रहश्यमयी मानिएको छ । 

अब बन्ने संविधानको सवालमा धर्म एउटा महत्वपूर्ण सवाल हो । पहिलो संविधानसभाले नै संविधान बनाएको भए धर्मको सवाल अहिलेझैँ जल्दोबल्दो नहुन सक्थ्यो, तर यसबीचमा जे–जस्ता घटनाक्रमको विकास भएको छ, त्यो हेर्दा धर्मको बारेमा अब कुनै पनि दल मौन रहन सक्ने अवस्था छैन । त्यसैले मधेशका वास्तविक प्रतिनिधि आफुहरू मात्रै हौँ भनीठान्नेहरू हिन्दु धर्मको सवालमा तराईवासी जनताका भावनाविपरीत धर्मनिरपेक्षताका पक्षमा अरू कति समय अडिन सक्लान्, यो एउटा जिज्ञासा र प्रतीक्षाको विषय भएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com