Story, असमान नययाको तराजु

बिम्मी शर्मा:  केही वर्षअघि हिन्दी पत्रिकामा एउटा कथा पढेको थिएं । कथाको सार थियो एउटा युवकलाई कुनै युवती असाध्यै मन पर्छे, उ त्यस युवतीलाई पाउन प्रयास गर्दछ तर सक्दैन । युवतीको अगाडि प्रेम प्रस्ताव पनि राख्छ तर उ मान्दिन अनि उसले एउटा खतरनाक निर्णय गर्छ । 

उसले होस्टलमा बसेर अध्ययन गर्दै गरेकि ती युवतीलाई कुनै अँध्यारो कालो रातमा एक्लो भएको अवस्थामा बलात्कार गर्छ । अँध्यारोमा गरिएको त्यो बलात्कारमा युवतीले त्यो पापी पुरुषलाई चिन्न सक्दिन । बलात्कारबाट ती युवतीको गर्भ रहन्छ । उनको र परिवारको चारैतिर बदनामी हुन्छ । युवतीले मर्ने निधो गर्छे, ठीक त्यतिनै बेला ती बलात्कारी युवक प्रेमीको छद्म रुप लिएर आइपुग्छन् र युवतीलाई बचाउँछन् । भीरबाट खस्न लागेकि युवतीले तीनलाई भगवान मान्छिन् र ती युवकलाई अत्यन्त प्रेम र श्रद्धा गर्न थाल्छिन् । 

केही महिनापछि ती युवतीको छोरा जन्मिन्छ, ती बलात्कार गर्ने तथाकथित प्रेमीले त्यो बच्चालाई आफ्नो नाम दिएर दुवैको उद्धार गर्छन् । आफैले गरेको करणीका कारण जन्मिएको छोरालाई आफ्नो बनाएर उनी युवतीको नजरमा अझ बढी अग्लिन्छन् । कालान्तरमा ती युवक बिरामी भएर मरणासन्न अवस्थामा पुगेपछि उनले युवतीबाट अधबैंसे उमेरकी महिलामा दरिइसकेकि आफ्नी पत्निको अगाडि त्यो कालो सत्यको रहस्योदघाटन गर्छन् कि “त्यो अँध्यारो रातमा तँलाई बलात्कार गर्ने मै थिए । सोझो हिसाबले तँलाई पाउन नसकेपछि मैले त्यो कृत्य गरेको हुं ।” उ छानाबाट खसेझैं हुन्छे, “जसलाई यतिका वर्षसम्म भगवान जस्तै मानेर पूजा र श्रद्धा गरेकि थिएं, मेरो जीवनमा ग्रहण लगाउने व्यक्ति नै मेरो लोग्ने भएर मेरै घरमा बसेको रहेछ ।” त्यसपछि उसलाई ती बलात्कारी पुरुष, तथाकथित प्रेमी वा लोग्नेप्रति असाध्यै घृणा उत्पन्न हुन्छ । 

कथा यतिकैमा सकिन्छ । कथा पढेको थुप्रै वर्षपछि संयोगले आफ्नै देशमा मलाई कथाकी पात्र तिनै युवती जस्तै ब्यथा बोकेकी एउटा महिलासँग भेट गराईदियो । कुनै कथा यति सत्यको नजिक हुन्छ भन्ने कुरा मैले जीवनमा पहिलोपल्ट अनुभव गरें । संयोगले भेटिएकि ती युवतीको नाम यहाँ गोप्य राखिएको छ । आठ कक्षामा पढ्दै गर्दा उनीभन्दा सात वर्ष जेठा एक युवक उनको रुपमा लठ्ठिएर पछि लागेका थिए । ती युवकसंधै तीनलाई पिछा गर्थे, युवक पहाडी मूलका र ती किशोरी मधेशी मूलकी भएकीले सम्बन्ध बन्न नसक्ने भन्दै उनले युवकको प्रेम निवेदन अस्किार गरिदिईन । ती किशोरी युवकका भिनाजुलाई दाजु मान्दथिन र भाइटीका लगाउने गरेकि थिइन् । एघार कक्षामा पढ्दै गर्दा भाइटीकाको निम्ता दिन युवकको भिनाजुको डेरामा पुग्छिन् ।

 तर त्यहाँ उनको भिनाजु नभएर साला अर्थात ती युवक एक्लै विराजमान थिए । एक्लै भएको फाइदा उठाउँदै ती युवकले ती किशोरीको बलात्कार गर्छन् । बलात्कारपछि प्रहरीमा रिपोर्ट गरिन्छ, युवकलाई प्रहरीले पक्राउ गर्दछ । युवकले आफ्नो अपराध स्विकार गर्दछन् । यता युवती र उनको परिवारको हुनसम्म बदनामी हन्छ । दुबैको परिवार मिलेर त्यसको समाधान विवाहको रुपमा निकाल्छन् । बलात्कार पीडित र पीडक दुबैको बिबाह हुन्छ । युवती अपराधीलाई बाध्य भएर आफ्नो लोग्नेको रुपमा स्विकार्छे, उ र उसको परिवारसँग यसको कुनै विकल्प हुदैंन । तर अपराधी मनोवृतिका ती युवक सुध्रिन्दैनन्, थप सजायबाट बच्नकालागि उनले ती युवतीसँग प्रेमको नाटक गर्दै बिहा गरेका थिए । युवक र उनको परिवारले जबरदस्तीको यो बिहाबाट कुनै उपहार, दाइजो वा नगद पाएको थिएन । 

अनि सबै मिलेर ती युवतीलाई मानसिक र शारीरिक यातना दिन थाल्छन् । लोग्ने र उसको परिवारले दिएको यातना सहन नसकेर उनी माईती गएर बस्छिन् तर त्यहाँबाट पनि उनलाई फर्काएर ल्याउछन् उनका लोग्नेले । ती युवकका भिनाजु जसलाई उनले कुनैबेला दाजु मानेर भाइटीका लगाएकी थिइन् आफ्नो सालाको लहैलहैमा लागेर ती युवतीलाई कुट्छन् । यसमा उनका छोराले पनि आफ्ना बाउलाई सहयोग गर्छन् । सासु, कान्छी सासु र आमाजुले पनि गाली र धम्की दिएर ती युवतीको घाउमा नुन दल्ने काम गरेका छन् । अहिले युवती मनोरोगी भइसकेकी छन्, हुन त जीवन निर्वाहकालागि उनी स्कुलमा पढाउने काम गर्दछिन् तर जीवन र प्रेमप्रति उनको मोहभँग भइसकेको छ । 

बिहा गरेको १० वर्ष बित्दापनि सन्तान नभएपछि लोग्नेले उनीसँग सम्बन्ध विच्छेद नगरेरै दोस्रो बिहा गरिसकेका छन् । दुई वर्षअघि भएको त्यो विवाहबाट अहिलेसम्म उनको श्रीमान बाउ बन्न सकेका छैनन् । आफ्नो श्रीमानको ज्यादतिका विरुद्ध उनले प्रहरीमा रिपोर्ट लेखाइन्, वकिलकोमा पनि धाइन् । तर अत्यन्त निर्लज्ज र ढीठ उनका लोग्ने उनलाई धम्कि दिदैं भन्छन् “त जहाँ गएर जसलाई गुहारेपनि मेरो विरुद्धमा केही गर्न सक्दिनस्, प्रहरी, वकिल, पत्रकार सबलाई मैले चिनेको छु, कसैले मेरो केही बिगार्न सक्दैन ।” सरकारमा रहेको एउटा राजनीतिक पार्टीका एक प्रभावशाली नेताको अत्यन्त नजिक रहेका कारण उन्मत्त भएर उनलाई रातदिन यातना दिइरहेका छन् । 

लोग्नेले अर्को बिहा गरेपछि माइतीले उनलाई पनि अर्को बिहा गर्नकालागि सम्झाए । लोग्नेको ब्यवहार ले आजित भएकि उनी अर्को बिहेकालागि तयार भएकि थिइन् तर त्यहाँ पुगेर उनको लोग्नेले फेरि उनलाई भडखालोमा जाकिनकालागि जबरदस्ती फर्काएर ल्याए । उनी महिलालाई न्याय दिन खुलेका एनजिओको शरण परिन, पत्रकारहरुलाई गुहारिन तर उनले न्याय पाइनन् । प्रहरीमा लोग्नेको अत्याचार खप्न नसकेर गरेको रिपोर्ट रेकर्डका रुपमा सुरक्षित छ । प्रहरीले पनि राजनीतिक दलको छत्रछाँया पाएका उनको लोग्नेलाई एकाध घण्टा ल्याएर थुन्छ र नेताकै सिफारिशमा छाडिदिन्छ । उनी न्याय चाहन्छिन् अनि बलात्कारी लोग्नेलाई सजाय दिलाउन चाहन्छिन् । 

वैवाहिक बलात्कारको मुद्दामा कानुन बनिसकेको यो देशमा प्रेमको बलात्कृत भएर तिनै बलात्कारी पुरुषसँग बिबाह गर्नु पर्दाको पीडा कसले बुझिदिन्छ होला ? ती कथाकी पात्रको बलात्कारबाट छोरा जन्मेको थियो र उनले अन्त्यमा मात्र आफुलाई बलात्कार गर्ने पुरुष को हो भन्ने थाहा पाएकि थिइन् । तर मानसिक र शारीरिक पीडा खेपेर बाच्न बाध्य यी वास्तविक पात्रले शुरुमै आफुलाई बलात्कार गर्नेलाई चिनिन् । तर अफशोच झ् सन्तान नभएको र दाइजो नपाएको निहुँमा यिनले खप्नसम्म पीडा खेपेकी छन् । 

जीवन कथा जस्तो हुंदैन, पढेर सकिने, जीवनमा संघर्ष गरेर बाँच्नु पर्दछ । सडकमा भौतारिंदै गर्दा बाटोमा ठोक्किएकी यी जीवित र वास्तविक पात्र पनि बाँच्न चाहन्छिन् तर आत्मसम्मानका साथ । के यिनले न्याय पाउलिन त ? न्यायको आँखामा पट्टी बाँधिएको छ, तराजु बराबर छैन, हल्लिरहेको छ । न्याय पाउने आशामा घरी घरी तिनी म तिरै हेर्दैछिन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com