विद्यार्थीहरुमा रुघाको समस्या फैलिएपछि विद्यालय बन्द I

एजेन्सी पुष ६,

विद्यार्थीहरुमा रुघाको समस्या फैलिएपछि अमेरिकाको दक्षिणी क्षेत्रका दुई काउन्टीका विद्यालयमा क्रिस्मसको एक साताअघि नै बिदा दिइएको छ ।

पोल्क काउन्टीले धेरै विद्यार्थीहरु बिरामी भएको जनाउँदैं हिउँदे बिदासम्मका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेको हो । काउन्टीका ७८ सय विद्यार्थीमध्ये १३ सय विद्यार्थीहरु रुघाखोकीबाट बिरामी परेका छन् भने ५ सय शिक्षकमध्ये ७८ शिक्षकसमेत बिरामी परेका छन् ।

यस्तै, नर्थ क्यारोलिनाको पश्चिमी भेगमा रहेको चेरोक काउन्टीले पनि दुई हिउँदे बिदा सुरु हुनु दुई दिनअघि नै बिदा दिएको छ । यसका साथै शिकागोदेखि ओहियो र जर्जियामा पनि विद्यालयहरु बन्द गरिएका छन् । एटलान्टाको एक जिल्लाको विद्यालयले अभिभावकहरुलाई पत्र पठाउँदैं बिरामी बच्चाहरुलाई घरमै राख्न आग्रह गरेको छ । तर, बालबालिका बिरामी हुनुमा रुघामात्रै कारक हो भन्नेमा स्पष्ट भएको छैन ।

एटलान्टाकी बालरोग विशेषज्ञ जेनिफर शुका अनुसार बच्चाहरुमा घाँटी तथा कानको संक्रमणका समस्या पनि देखिएका छन् । सिडिसीले यसवर्ष रुघाको भ्याक्सिन दिइएपनि त्यो त्यति प्रभावकारी हुन नसकेको जनाएको छ ।

सिडिसीका निर्देशक डा. टम फ्रिडेनले भनेका छन्, ‘रुघाको भाइरसलाई भविष्यवाणी गर्न गा¥हो छ, अहिले जे देखिएको छ, त्यो निकै चिन्ताजनक कुरा हो ।’ उनले हात राम्रोसंग धुन, खोकी लाग्दा मुख छोप्न र बिरामी पर्दा काममा नजान वा स्कुल नजान सुझाव दिएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com