सिन्धुपाल्चोमा HIV सङ्क्रमित १७७ पुगे

मेलम्ची, १४ पुस ,

सिन्धुपाल्चोक जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या १७७ पुगेको छ । लामो समयदेखि जिल्लामा एचआइभी एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहले यो तथ्य सार्वजनिक गरेको हो ।

तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ८४ महिला र ८२ पुरुष रहेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित पाइएको छ । त्रिपन्न जना सङ्क्रमित रहेको इचोकमा सङ्क्रमितमध्ये ३५ जना महिला र २३ पुरुष रहेका छन् ।

गएको वर्ष जिल्लामा ५३ महिला र ६८ पुरुष गरी १२१ मा एचआइभी सङ्क्रमण देखिएको थियो । मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार यो सङ्ख्या अझै बढी हुन सक्छ । अध्यक्ष तामाङले भने, “यो तथ्याङ्क त हामीसँंग सम्पर्कमा आएकाहरुको मात्र हो, हामीजस्ता सङ्घसंस्थाको सम्पर्कमा आउन नचाहनेको सङ्ख्या अझै बढी रहेको अनुमान गरेका छाँै ।”

जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा सङ्क्रमित बालबालिकाको सङ्ख्यामा पनि वृद्धि भएको छ । मिर्मिरेको तथ्याङ्कमा जिल्लाका ११ बालबालिकामा एचआइभी भेटिएको छ । सङ्क्रमितमध्ये सात बालक र चार बालिका सङ्क्रमित रहेका छन् ।

बाबुआमा एचआइभी सङ्क्रमित भएपछि बालबालिकामा पनि यो रोेग सरेको तामाङ बताउछन् । घर परिवारको एकजना सदस्य पैसा कमाउन बिदेसिने र विदेशबाटै यस्तो रोग लिएर आउने गरेकाले जिल्लाका ग्रामीणस्तरमा एचआइभीले जरो गाडेको तामाङको भनाइ छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com