कविता '' नयाँ वर्ष '' By, निता केसी


कविता '' नयाँ वर्ष ''
 
यसपालि पनि नयाँबर्ष त्यसैगरी आयो
जसरी पोहर आएथ्यो
भोगेका दिनहरुलाई लखेट्दै
गुराँस त्यसैगरी फुलेथ्यो, सर्वत्र वनमा
तिम्रो माया पनि उस्तै टल्केथ्यो,मनमा
अहिले खोलाको कलकल उस्तै छ
बादलका फूलहरू उस्तै देख्छु आकाशमा
खलबल छ छिमेकमा
रंगहरू उडेका छन् शुभकामनाका
जसरी पातालले छाँगोबाट पानीका बाफहरू उड्छन्
पर्यटक घुमन्तेका अनुहार ढाकेर
माथि आकाशसम्म
पृथ्वीको त्यो गोलारद्धमा तिमी छौ
यता म छु यो हिमालमुन्तिर
घाम एउटै हो
अलि छिटो यता होला
अलि ढीलो त्यता होला
बिहान उस्तै, दिन उस्तै, चिसो रात उस्तै
जब सम्झना हुन्छ छातीभित्र कोही मान्छेको
जसको अनुहार तिमीसँग मिल्छ
अनि ढुकढुकी मसँग
त्यसैत्यसै न्यानो हुन्छ पुषको यो रात
बन्द हुन्छ मुट्ठी र निद्राले लैजान्छ कतै
अहो, त्यो अद्भूत संसारमा तिमीजस्तै कोही पुरुष
र मेरै हुलियाकी कोही नारी
इन्द्रेणीमा नाचेको देख्छु म छमछम
ब्युँझदा छातीमा तिम्रो तस्बिर हुन्छ
हाँसिरहेको, र
मानिसहरू सन्देश पठाइरहेका हुन्छन्
नयाँ वर्षको शुभकामना
क्यालेन्डरमा हुन्छ
जनवरी, १, २०१५ को पातो - !!!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com